बिटु केसी बराल
सिएनएन हिरो अवार्ड सेरोमनी हेरेर बसेकी थिएँ । मेरो ध्यान पुष्पा बस्नेतप्रति केन्द्रित थियो । जब जब क्यामराले पुष्पाजीलाई फोकस गर्दथ्यो म एक किसिमले तरंगित हुन्थे । शरिरका रौंहरू ठाडो हुन्थ्यो । बिभिन्न अपराधमा सजाँय पाएका आफ्ना अभिभावकहरूसंगै बेकसुर कैदी हुन पुगेका बालबालिकालाई उत्थान गर्ने सुकार्यको सुपरिणामले उनलाई आज सिएनएन हिरोको गरिमामय मन्चमा सगौरब उभ्याएको थियो ।
सिएनएनले उत्कृष्ट दशजनाको नाम र कामको परिचय दिदै गयो । सबै एक से एक । सामाजिक सेवाका सम्बाहक ! तर मेरो मन र मुटु नेपाली चेली पुष्पाकोलागि धड्किरहेको थियो त्यतिखेर विश्वभर सिएनएन हेरेर बसिरहेका नेपालीहरूको जस्तै । शायद नेपालमै भएनी पुष्पाजीसँग भेट हुने मौका मिल्थ्यो मिल्दैनथ्यो थाहा छैन । तर लामो समय अमेरिका बसाइमा मैले आम नेपाली सरह मिडियाबाटै चिनेकी हुँ उनलाई । कान्तिपुर टेलिभिजनको दिशनिर्देशमा बिजय कुमार पान्डेसंगको अन्तरवार्ता हेरेपछि पत्रपत्रिकामा पढेको भन्दा अझ बढी चिनेको जस्तो लागेको थियो मलाइ । सरल ब्यबहार , उच्च बिचार र समर्पणले उनलाई आज यहाँसम्म पुर्यायो । सामाजिक सेवाको माध्यमबाट सिंगो मुलुक नेपालको प्रतिनिधित्व गरिरहेकी पुष्पालाई देख्दा मेरो छाती पनि गौरबले ढक्क फुल्यो ! जब सिएनएनका प्रख्यात पत्रकार एन्डर्सन कुपरले उत्कृष्ट सीएनएन हिरोको नाम नेपालकी पुष्पा बस्नेत भनेर घोषणा गरे , धड्किरहेको पुष्पाको मुटु क्षणभरलाई टक्क रोकियो । मन्चमा तालीको फोहरा छुट्यो । भाब बिह्ल भइन् पुष्पा । त्यो उत्कृष्ट अवार्डलाई अँगालो हालेर मन्चमा निर्धक्क खुशीको आसुँ रोइन , उनीसंगै सिएनएन हेरिरहेका सारा नेपाली खुशीको आसुँ रोइरहेका थिए । आहा ! त्यो क्षण ।
यो सम्मान आफूलाई धेरै ठुलो मान्यता राख्ने , देशका जेल भित्र रहेका अरु बालबालिकालाई बाहिर ल्याउन आफू छिट्टै आउने , साथै आफूले पाएको यो सम्मान आफ्ना सबै बच्चाहरू र नेपालकोलागि हो भन्दै आफ्नो सपनालाई बिश्वास गरि भोट दिनुहुने सबैलाई उनले सीएनएनको मन्चबाट धन्यबाद दिइन् ।
वास्तवमा अनुराधा कोइराला दिदि र पुष्पा बस्नेतलाई भोट हाल्न संसारभरका नेपालीहरूको उल्लेख्य योगदानको कदर गर्नुपर्छ । सामाजिक सन्जाल फेसबूकको माध्यमबाट पुष्पालाई भोट हाल्न महत्वपुर्ण भूमिका खेल्नुहुने अमृता लम्शाल दिदि, रबिन्द्र मिश्र, हरिबंश आचार्य लगायत अरु जजसले आफूले सक्दो प्रयाश गर्नुभयो त्यो ज्यादै सराहनीय छ ।
देशको राजनीतिक अबस्था लथालिङग छ । न संबिधान छ न कानुन ! सम्झदै पनि मुटु चिसिएर आउँछ । हामी बिदेशमा बस्ने नेपालिहरूलाई यहाँको बिकास र प्रगतिप्रति इर्ष्या हुन्छ, देशको दुर्गतीप्रति चिन्ता र दु:ख । बबिता बस्नेत दिदिले बिबिसि को साझा सवालमा भने जस्तो – तिमीहरूको देशमा किन सधैं झगडा ? किन मिल्न नसकेको ? भनेर बिदेशि साथी हरूले भन्दा साह्रै आत्मग्लानी हुन्छ । हो हुन्छ, रुन मन लाग्छ । वित्रिष्णा जाग्छ, कुन्ठा पलाउँछ । हामी सम्झाउछौ आफैलाई सबै ठीक हुन्छ, राम्रो हुन्छ । सकारात्मक सोच राख्नु पर्छ भनेर आफैलाई र अरुलाई पनि सम्झाउछौं । तर कहिलेसम्म ?
देशको अबस्था झन झन ओरालो लाग्दैछ । राजनीतिक नेत्रित्वमा त्याग छैन । सबलाई सत्ता र पद चाहिएको छ, आखिर के को लागि ? जनता र देश भए मात्रै न त्यो सब सम्भब छ । फेरि जनता र राष्ट्रलाई नै गौण बनाएर राजनीति कसरी सफल हुन्छ ? यो कुरा उनिहरुको मगजमा नघुस्न देशको ठुलो दुर्भाग्य हो ।
मेलमिलापबाट जतिनै ठुलो समस्यालाई पनि समाधान गर्न सकिन्छ तर राष्ट्र हितको लागि दलहरू किन मिल्दैनन ? मिल्न नसक्नु दरिद्र मानसिकताको उपज होईन र ? देश संक्रमणकालीन परिस्थितिबाट गुज्रीरहेको छ । यतिबेला पद , दल र सिद्दान्त भन्दा देश माथि हुनुपर्ने तर खोइ हाम्रा नेताहरू हप्तौं बित्दा पनि एउटा प्रधानमन्त्रीको पदकोलागि सहमत हुन सक्दैनन । बर्षौं बित्दा पनि देशमा संबिधान ल्याउन सक्दैनन । नेपाली जनता त फगत बिचरा !
हामी लालायित छौं, देशको राम्रो खबर सुन्न र हेर्न । देशको अधोगतिबाट दिनपर्दिन निरासाको अन्धकारमा निसास्सी रहेका हामी नेपालिलाई एउटा राम्रो खबर सहर्ष उज्यालो प्रकाश बनिदिन्छ । लामो श्वास फेर्ने एउटा आधार बनिदिन्छ । हो त्यसैले हामी खुशी हुन्छौं पुष्पा बस्नेत, अनुराधा कोइराला, दिलशोभा श्रेष्ठ र महाबिर पुनहरूको असल कामले । वास्तवमा यस्तै र यिनै निष्ठावान र लगनशीलकै कारण हामी नेपालीको गौरव बाँचेको छ । अन्यथा नेपालका राजनीतिकर्मीहरूबाट आशा राख्ने कुनै ठाउँ छैन ।